काठमाडौं । पेट्रोलियम पदार्थ मूल्यवृद्धि भएको भन्दै फिर्ताको माग राखि आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्द आयोजना गरेको छ । बन्दको प्रभाव देशभर देखिएको छ । खासगरी ग्रामिण भेगमा यातायात ठप्प जस्तै छ । शहरी इलाकामा समेत सार्वजनिक यातायात चलेका छैनन् । फाट्टफुट्ट निजी सवारी चल्नुबाहेक सडक सुनसान देखिएको छ । जसले गर्दा यात्रामा जानै पर्ने यात्रुले भने सास्ती भोगिरहेका छन् ।
लामो दूरीबाट यात्रा गरि काठमाडौं आएका यात्रु सडकमा पैदल हिँडेर घरसम्म पुग्नु पर्ने बाध्यतामा छन् । कलङ्की, नयाँ बसपार्क, बल्खु, कोटेश्वरजस्ता चेकमा सार्वजनिक गाडी कुरेका यात्रु अलपत्र बनेका छन् । बन्दको प्रभाव कम गराउन प्रहरी परिचालन भने बाक्लो देखिएको छ । उता, तनहुँमा बन्द गराउँदै हिँडेका विप्लव नेकपाका ११ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरामा समेत यातायात प्रभावित भएको खबर छ ।