काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीले समेत चर्को आलोचना गरेको छ । पार्टी महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले अपनाएको फाँसिवादी चरित्रका कारण वर्तमान राज्य व्यवस्थाको नै विकल्प खोजिनुपर्ने तर्क गरेका छन् ।
आफु संकटमा पर्दा संसारभरका शासकले अपनाउने उपाय केपी ओलीले अपनाएको भन्दै उनले फाँसीवादको सहारा लिँदै संसद विघटन गरेको बताएका छन् ।
‘नेपाली जनताको अग्रगामी एवम् रूपान्तरणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने सङ्घर्षले उनीहरूले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरे पनि यो असफलता र सङ्कट आउनु अनिवार्य थियो‚’ विप्लवले भनेका छन्, ‘जनताको शान्ति र प्रगतिको आकांक्षा पूरा गर्न असफल हुँदा फासिवादको सहाराद्वारा आफ्नो सङ्कट टार्न खोज्ने संसद्वादी तत्वहरूको विश्वव्यापी चरित्रअनुरूप पर्ने केपी ओलीले यो कदम चालेका छन्।’
विप्लवले लोकतन्त्रवादी, प्रगतिशील, देशभक्त शक्तिहरुसँग आफू नयाँ आधारमा सहकार्य र मोर्चाबन्दी गरेर अगाडि बढ्न तयार रहेको समेत बताएका हुन् ।