काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख मनोज साहको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कार्यक्रम बहिष्कार गरेका छन् ।
एमालेबाट निर्वाचित ७ वटा वडाध्यक्ष र २९ वटा सदस्यले सपथग्रहण कार्यक्रम सामूहिकरूपमा बहिष्कार गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै एमाले जनप्रतिनिधिले निधिलाई प्रमुख अतिथि बनाएकाले सपथग्रहण समारोहमा उपस्थित हुन असमर्थ भएको उल्लेख गरेका छन् ।
‘सपथग्रहण समारोहमा प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री वा नेपाल सरकारका कुनै तहका कर्मचारीलाई प्रमुख अतिथि बनाएको भए आपत्ति थिएन’, विज्ञप्तीमा भनिएको छ ।
कांग्रेसबाट टिकट नपाएपछि नगर सभापतिबाट राजीनामा दिएर साह स्वतन्त्र उम्मेदवार बनेका थिए । स्वतन्त्र उम्मेदवारी दिएका उनले चुनावपछि पनि स्वतन्त्र रहने बताएका थिए । तर, निर्वाचित भएपछि अब कांग्रेसमै रहने साहले बताउन थालेपछि उनी विवादमा तानिएका छन् ।