काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक काम नपरेसम्म नजान आह्वान गरेको छ ।
त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने भिजिटर पास वितरण बन्द गर्दै सर्वसाधारणमा यस्तो आह्वान गरेको हो ।
अर्को व्यवस्था नभएसम्म पास वितरण बन्द गरिएको विमानस्थलले उल्लेख गरेको छ ।
चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनु पर्ने भएकाले विमानस्थलभित्र प्रवेशमा कडाई गरिएको कार्यालयको भनाई छ ।
विमानस्थल क्षेत्रभित्र अत्यावश्यक काम नपरेसम्म नआउन र आउनै परे मास्क अनिवार्य लगाउन समेत सर्वसाधारणलाई आग्रह गरिएको छ ।
यात्रुलाई ल्याउन र पुर्याउन आउने मानिसले अनिवार्य मास्क लगाउनु पर्ने भएको छ ।
कोरोनाको संक्रमण नेपालमा समेत फैलन सक्ने सम्भावना रहेको र विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा राखेका कारण यस्तो नियम ल्याउनु परेको विमानस्थल कार्यालयले उल्लेख गरेको छ ।
पछिल्लो केही दिन यता नेपाल सरकारले समेत कोरोनासम्बन्धमा उच्च सतकर्ता अपनाउन थालिसकेको छ ।