विमानस्थलमा फिलिपिनी महिलाको साथबाट झण्डै तीन किलो सुन बरामद

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २.७ किलो सुन बरामद गरेको छ । शुक्रबार साँझ काठमाडौं अवतरण भएको फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलाबाट प्रहरीले सुन बरामद गरेको हो । आगमन कक्षमा ती महिलामाथि शंका लागेर चेकजाँच गर्दा तरल अवस्थामा रहेको सुन बरामद भएको त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए ।

उनका अनुसार महिलाले भित्री वस्त्रमा लुकाएर सुन ल्याएकी थिइन् । सुन कहाँबाट ल्याइएको थियो र कहाँ लगिदैछ भन्ने विषय खुलेको छैन । यसअघि २ साउनमा प्रहरीले त्रिभुवन विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएको ब्रेक सु मा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरेको थियो । उक्त सुन ब्रेक सु बाट निकालेर गाल्दा करिब ६२ किलो भएको पाइएको थियो ।