विमानस्थलसम्म यात्रु लैजान साझा यातायातका बस चलाइने

काठमाडौं । निषेधाज्ञाको समयमा हवाई यात्रुको आवतजावत सहजिकरण गर्न विमानस्थलसम्म साझा यातायातका बस चल्ने भएका छन् । आन्तरिक तथा बाह्य यात्रुको सुविधालाई ध्यानमा राखी वैशाख १६ देखि काठमाडौं उपत्यकामा साझा यातायातले हवाई यात्रुलाई विमानस्थलसमम लैजाने भएको हो । सोही दिनबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु हुँदैछ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान भने बन्द गरेको छैन ।


निषेधाज्ञामा सार्वजनिक यातायात नचल्दा हवाई यातायात मात्र चलाउन कठिन हुने भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले थप निर्णय गरेको हो । प्राधिकरणले यात्रुका लागि साझा यातायातका बसहरू उक्त समयमा परिचालन गर्ने निर्णय गरेको छ। साझाका बसबाट यात्रु गन्तव्यमा पुग्नेछन्। त्यस्तै, एयरलाइन्सका लागि पनि सवारी सञ्चालनको अनुमति दिइने छ। आन्तरिक हवाई यात्रुका सवालमा टिकट र परिचयपत्रका आधारमा सहिजकरण गर्ने तयारी रहेको छ ।