इंल्याण्डमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ। बिहीबार राति सम्पन्न भएको खेलमा वेस्ट इन्डिजलाई १५ रनले पराजित गर्दे अस्ट्रेलियाले लगातार दोस्रो जीत हात पारेको हो । वेस्ट इन्डिजले भने दोस्रो खेलमा पहिलो हार बेहोर्यो ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २८९ रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा २७३ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका लागि कप्तान जासन होल्डरले ५१ रन बनाए ।
शाइ होपले ६८, निकोलास पुरान ४०, क्रिस गेल २१, आन्द्रे रसेल १५ र कार्लोस वाथवेटले १६ रनको योगदान दिए ।
अस्ट्रेलियाका मिचेल स्टार्क एक्लैले ५ विकेट लिएपछि वेस्ट इण्डिज जीत नजिक पुगेर पनि हार्न पुग्यो । उनले १० ओभरमा १ मेडनसहित ४६ रन खर्चिए।
टस जितेको वेस्ट इन्डिजले अस्ट्रेलियालाई ब्याटिङको निम्ता दिएको थियो । अस्ट्रेलिया ४९ ओभरमा २८८ रनमा अलआउट भयो। उसका लागि नाथान काउटर निलले सर्वाधिक ९२ रन बनाए ।
स्टेभन स्मिथले ७३ रन जोडे। एलेक्स क्यारीले ४५ रनको योगदान दिए । वेस्ट इन्डिजका कार्लोस बाथवेटले ३ विकेट लिए ।