काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीम विश्वकपमा छनोट हुने लक्ष्य बोकेर मंगलबार ओमान उड्दैछ । आईसीसी पुरुष टी–२० विश्व कपको अन्तिम छनोटका रुपमा ग्लोबल छनोट ‘ए’ प्रतियोगिता हुँदैछ । यहाँबाट छनोट हुने दुई टीमले विश्वकपमा भाग लिन सक्नेछन् । मंगलबार राती ८ बजे नेपाली टोली सो मुलुक प्रस्थान गर्नेछ । ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । आठ टोलीलाई समूह ‘ए’ र ‘बी’ मा विभाजन गरिएको छ । ‘ए’ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान छन् । ‘बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।
खेल फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछन् । नेपालले पहिलो खेल फेब्रुअरी १८ मा आयोजक ओमानसँग खेल्नेछ । दोस्रो खेल फिलिपिन्ससँग फेब्रुअरी १९ मा र तेस्रो खेल क्यानडासँग फेब्रुअरी २१ मा खेल्नेछ । समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछन्। फाइनल खेल फेब्रुअरी २४ तारिखमा हुनेछ । फाइनल प्रवेश गर्ने दुई टोली अस्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–२० विश्व कपको लागि छनोट हुनेछन् । छनोट खेल अघि नेपालले ओमानमा चार देशीय टी–२० श्रृङ्खला खेल्दैछ । जहाँ नेपाल, ओमान, यूएई र आयरल्यान्ड भिड्नेछन् ।