विश्वकप क्रिकेट : इंल्याण्ड र न्यूजिल्याण्डले हराए एसियाली प्रतिस्पर्धी

कप्तान केन विलियम्सन चम्किएपछि न्युजिल्याण्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण एसियाली टोली अफगानस्तानलाई ७ विकेटले हराएको छ ।

१ सय ७३ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले ७ विकेटको सहज जित हात पार्यो । यस जीतसँगै न्युजिल्याण्ड जारी विश्वकपमा लगातार तेस्रो खेलमा विजयी भएको हो ।

कन्ट्री ग्राउण्डमा अफगानस्तानले दिएको सामान्य लक्ष्य न्युजिल्याण्डले ३२ दशमलब १ ओभरमा ३ विकेटको क्षतिमा भेटायो । न्युजिल्याण्डका लागि कप्तान विलियम्सनले अविजित ७९ रनको पारी खेले । अफगानस्तानका अफताब आलमले ३ विकेट लिएका थिए ।

पहिला ब्याटिङ गरेको अफगानस्तानले ४१ दशमलब १ ओभरमा अलआउट हुँदै १ सय ७२ रनमात्र बनाएको थियो । न्युजिल्याण्डका जेम्स निशम एक्लैले ५ विकेट लिए । लोकी फेर्गुसनको नाममा ४ विकेट रह्यो ।

उता, शनिबार राती नै सम्पन्न अर्को खेलमा आयोजक इंल्याण्डले अर्को दक्षिण एसियाली टोली बंगलादशेमाथि १ सय ६ रनको प्रभावशाली जीत निकाल्यो । घरेलु टोली इङल्यान्डको यो दोस्रो जीत हो ।

कार्डिफमा ३ सय ८७ रनको बिशाल लक्ष्य पच्छाएको बंगलादेश ४८.५ ओभरमा २ सय ८० रनमा अलआउट भएपछि इङल्यान्डले सहजै खेल जितेको हो । बंगलादेशका लागि सकिब अल हसनले १ सय २१ रनको शतकिय पारी खेलेपनि टोलीलाई जिताउन भने सकेनन् ।

पहिले ब्याटिङ गरेको इंङ्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ८६ रनको विशाल योगफल तयार पारेको थियो । इंङल्यान्डका लागि जेसन रोयले १ सय ५१ रन बनाए ।
एजेन्सी