विश्वकप छनोटमा नेपालले खेल्न बाँकि खेलको तालीका सार्वजनिक

तस्वीर : एन्फा

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा हुनुपर्ने विश्वकप छनोट खेलहरु प्रभावित भएका छन् । नेपालले प्रतिस्पर्धा गरिरहेका फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेल सन् २०२१ को जुन महिनाभित्र सकिने गरी नयाँ तालिका आएको छ ।

एसियन फुटबल कन्फेडेरेसन एएफसीले विश्वकप र एसियन कप छनोटका बाँकी खेल जुन १५ सम्म सकिने गरी नयाँ तालीका बनाएको हो । एएफसीको प्रतियोगिता समितिको भर्चुअल बैठकले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेल जुन १५ भित्र सक्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको महामारीको कारण यसअघि अक्टोबर र नोभेम्बरमा तय गरिएका छनोट खेल स्थगित भएका हुन् । छनोट अन्तर्गत बाँकी रहेको खेल मार्च र जुनमा हुने भएको हो । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले घरेलु खेल खेल्न बाँकि छ ।

नेपालले तीन खेल खेल्नेछ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्नेछ । यी खेल दशरथ रंगशालामा हुनेछन् । यसमध्ये अष्ट्रेलिया विश्वकप खेलिसकेको टीम हो । यसैबीच नेपालले शुक्रबार बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खुल्दैछ ।