विश्वकप छनोटमा नेपालले खेल्ने ‘होम म्याच’ अब कुवेतमा हुने

तस्वीर : एन्फा

काठमाडौं । सन् २०२२ को विश्वकप फुटबल र २०२३ को एसियन कपको संयुक्त छनोटमा नेपालले घरमा खेल्न नपाउने भएको छ । नेपालले घरेलु मैदान दशरत रंगशालामा ३ खेल खेल्ने कार्यक्रम थियो । तर, अब यी खेल कुवेतमा हुने भएको हो । नेपालले चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसंगको खेल कुवेतमा खेल्नु पर्ने भएको छ ।

एसियन फुटबल कन्फडेरेसन (एएफसी) आज यस्तो जानकारी गराएको हो । एएफसीले शुक्रबार विश्वकप छनोट अन्तर्गत आठवटै समूहको बाँकी खेल आयोजक देशको सूची सार्वजनिक गर्दै नेपाल सम्मिलित समूह बीका सबै खेल कुवेतमा हुने जानकारी गराएको हो ।

कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण बाँकी खेलहरु न्युट्रल भेन्युमा गर्न लागेको एएफसीले स्पष्ट पारेको छ । खेल मे ३१ देखि जुन १५ को बीचमा संचालन हुने भएका छन् । यसअघि नेपालले मार्च अन्तिम साता घरेलु मैदानमा दुई खेल खेल्ने तय भएको थियो ।

तर कोरोना महामारीका कारण अझै रहेका यात्रा प्रतिबन्ध र क्वारेन्टिन प्रावधानका कारण एएफसीले ती खेल स्थगित गरेको हो । छनोट अन्तर्गत नेपालले अहिलेसम्म ५ खेल अवे मैदानमा खेलिसकेको छ । नेपालले ५ खेलबाट ३ अंक जोडेको छ ।