काठमाडौं । फिफा विश्वकपका लागि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । नेपाली समय अनुसार शुक्रबार बिहान सम्पन्न खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेखेका हुन् । बराबरीपछि अर्जेन्टिना समूहको शीर्ष स्थानमा उक्लिन भने सकेन । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेसीले २४ औं मिनेटमा पेनाल्टीबाट गोल गरे ।
चिलीका एलेक्सिस सान्चेसले ३६ औं मिनेटमा बराबरी गोल फर्काएपछि भने कुनै पनि टोलीले गोल थप्न सकेनन् । छनोट प्रतियोगिताको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले बराबरीपछि ५ खेलबाट ११ अंक जोडेको छ । यो समूहको शीर्ष स्थानमा ब्राजिल छ । उसको ४ खेलबाट १२ अंक जोडेको छ । चिलीको ५ खेलबाट मात्र ५ अंक छ ।
दक्षिण अमेरिकाको छनोटको प्रतिस्पर्धामा रहेका १० देशमध्ये शीर्ष ४ स्थानमा रहने टोली विश्वकप खेल्नेछन् । पाँचौं स्थानमा रहने टोलीले इन्टरकन्टिनेन्टल प्लेअफमार्फत विश्वकप छनोटको अवसर पाउने छ । आजै भएका अन्य खेलमा उरुग्वे र पाराग्वेले गोलरहित बराबरी खेलेका छन् । बोलिभियाले भेनेजुएलालाई ३–१ गोलले हरायो ।