काठमाडौं । टी–२० विश्वकपको छनोट (ग्लोबल क्वालिफायर)का खेलहरु आजबाट ओमानमा शुरु हुँदैछन् । प्रतियोगिताको पहिलो खेलमा शुक्रबार आयोजक ओमानविरुद्ध नेपालले सामना गर्दैछ । यो खेलले समूह चरणबाट माथि जाने टीमको आंकलन गर्न सक्ने अवस्था रहेकाले समेत दुबै टीमका लागि खेलको नतिजा महत्वपूर्ण हुने छ । ग्लोबल क्वालिफायर ए मा नेपालसहित आठवटा देशले प्रतिस्पर्धा गर्दैछन् ।
जसलाई ४-४ टोलीको दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स रहेका छन् । अर्को समूहमा आयरल्याण्ड, युएई, जर्मनी र बहराइन छन् । दुवै समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल जितेर फाइनल प्रवेश गर्ने दुई टिम विश्वकपमा छनोट हुनेछ । त्यसकारण नेपाललाई ७ वर्षपछि विश्वकप खेल्ने अवसर रहेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाली टिम विश्वकपमा छनोट हुने आशा राखेका छन् ।