विश्वकप टी-२० छनोटमा नेपाल सहज समूहमा, कुन-कुन टीम परे ?

काठमाडौं । सन् २०२२ अक्टोबर\नोभेम्बरमा अस्ट्रेलियामा आयोजना हुने आइसिसी टी-२० विश्वकपको छनोटमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । विश्व छनोटको समूह विभाजनमा नेपाल समूह ए मा परेको छ। समूह ए मा नेपालसहित आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई छन् ।

यो समूहका खेल आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। यो प्रतियोगिताको समूहबाट शीर्ष दुई टिम विश्वकप खेल्न छनोट हुने छन् । समूह बी मा भने आयोजक जिम्बावेसहित हङकङ, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर र अमेरिका छन्। यो समूह अर्को समुहको तुलनामा बलिया टीमहरु रहेका छन् । विश्वकपमा कुल १६ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

१२ टिमको भने विश्वकप सहभागिता निश्चित भइसकेको छ । सन् २०२१ को टी-२० विश्वकपको सुपर १२ मा पुगेका अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले सन् २०२२ को टी-२० विश्वकपमा सिधै पुगेका हुन् । अस्ट्रेलिया भने आयोजकको हैसियतमा विश्वकपमा छनोट भएको छ ।