मिजोरम । विश्वको सबभन्दा ठूलो परिवारका घरमुली मानिने ७६ वर्षीय पुरुषको निधन भएको छ । वर्तमान विश्वमा भारतका जिओना चाना विश्वकै धेरै सन्तानका मुखिया मानिन्थे ।
बीबीसीका अनुसार उनको भारतको मिजोरम राज्यमा निधन भएको हो । बहुपत्नी प्रथा भएको एउटा धार्मिक सम्प्रदायका प्रमुख रहेका चानाका ३८ श्रीमती, ८९ सन्तान र ३६ नातिनातिना रहेको पाइएको छ ।
मिजोरमका मुख्यमन्त्री जोरामथाङ्गाले ट्विटरमा उनको निधन भएको बारे लेखेका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार चानामा मधुमेह र उच्च रक्तचापको समस्या थियो।
चिकित्सकहरूले पीटीआई समाचार संस्थालाई चानाको घरमै स्वास्थ्य बिग्रिएको र आइतवार साँझ मृत अवस्थामा अस्पताल ल्याइएको बताएका छन्। उनको परिवार विश्वकै दावि गरिएको छ । यसको आधिकारिक रेकर्ड भने छैन ।
चानाको परिवारको संख्या समेत यकिन गर्न सहज नभएको बीबीसीले लेखेको छ । एउटा विवरणमा उनका ३८ श्रीमती, ९४ सन्तान, ३३ नातिनातिना र एक पनाति रहेको पाइएको छ । स्थानीय सञ्चारमाध्यमहरूले सबैभन्दा ठूलो परिवारको विश्व कीर्तिमान भएको विवरण दिएका छन् ।
चानाको परिवारकै कारण भारतको उत्तरपूर्वी गाउँ पर्यटकीय आकर्षणको केन्द्र भने बनेको बताइएको छ । रोयटर्सका अनुसार चाना सन् १९४५ मा जन्मेका हुन् र उनले आफूभन्दा तीन वर्ष जेठी पहिलो श्रीमतीलाई १७ वर्षको उमेरमा भेटेका हुन्। सो परिवार २,००० जना अनुयायी रहेको इसाई धर्मको चाना पउल सम्प्रदायको रहेको छ।