न्युयोर्क
न्युयोर्क म्यानह्याटनस्थित एक प्रतिकात्मक समलिंगी मदिरालय (मधुशाला) स्टोन वाल जँहाबाट ५१ बर्ष पहिले समलिंगी अधिकारको आन्दोलन सुरु भएको विश्वास गरिन्छ, आज त्यो मदिरालयको अस्तित्व संकटमा परेको छ । चर्चित पर्यटकीय क्षेत्र ग्रिनविच भिलेज क्षेत्रमा संचालित स्टोन वाल कोरोना महामारीको कारण खर्च अभाब भए पछि बन्द गर्नु पर्ने अवस्थामा पुगेको हो ।
महिनौं बन्द भएर पुन संचालन गर्न अहिले मदिरालयले चन्दा संकलनको बाटो रोजेको छ । अनलाईन चन्दा संकलनकर्ता एजेन्सी गो फण्डमीमा ‘स्टोन वाल ईन’ ले दुई वटा खाता सुरु गरेको छ । स्टोन वालले चन्दा उठाउन गो फण्ड मिमा खोलेको दुई वटा खाता मध्ये ‘मदिरालय संचालन खर्च’ को एउटा खातामा २ लाख ३३ हजार अमेरिकी डलर उठाईसकेको छ भने ‘कर्मचारी सहयोग’ नाम दिईएको अर्को खातामा ३६ हजार डलर संकलन गरिसकेको छ ।
स्टोन वालकी सह-मालिक स्ट्यासी लेन्जले समलिंगिहरुको प्रतिकात्मक मदिरालयको अस्तित्व संकटको बिषयमा भनेकी छिंन्; ‘तिन महिनासम्म कुनै पनि आम्दानी बिना मदिरालय (बार) को अस्तित्व बचाउनुले भबिष्यमा के हुने हो थाहा छैन । यो ऐतिहासिक मदिरालयले झेल्नु परेको कठिन परिस्थितीको बारेमा सबैले थाहा पाउनु पर्ने हाम्रो सोचाई छ । सन् १९६९ को समलिंगी अधिकारको आन्दोलन पछि स्टोन वाल मदिरालयले राष्ट्रिय मान्यता पाउँदै आएको छ । संसारभरका मानिस बीच परिचित स्टोन वाल एउटा मदिरालय र मनोरञ्जनको थलो भन्दा पनि समलिंगी आन्दोलनको एउटा सम्मानित स्थलको रुपमा चिनिन्छ ।
समाचार श्रोत : एबिसि ७ न्युयोर्क