काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसले २८ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघले उपलब्ध गराएको तथ्यांक अनुसार शनिबार साँझसम्म उक्त संख्यामा एनआरएनको मृत्यु भएको हो ।
एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको ज्यान गएको छ ।
स्वास्थ्य उपसमितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, नेपालबाहेक विश्वभर एक हजार १६६ गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित छन् ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आकडानुसार २१ देशमा रहेका नेपाली कोभिड –१९ बाट संक्रमित छन् ।
नेपालमा १९ हजार ५५४ जनामा परीक्षण गरिएकामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ । तीन जना कोरोनामुक्त भई घर फर्किसकेका छन् ।
संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करिब सात सय, बेलायतमा दुई सय, संयुक्त युएईमा ७१, आयरल्याण्ड र पोर्तुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा पाँच, जर्मनी, बेल्जियम र साउदी अरबमा चारचार, क्यानडा र मलेसियामा तीनतीन, माल्टामा दुई तथा फ्रान्स, जापान, म्यान्मा र हङकङमा एकएक जना छन् ।
विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक र कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर सो आँकडा तयार पारिएको स्वास्थ्य उपसमितिले जनाएको छ ।
विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको परिवारको सहयोगार्थ एनआरएनले आफ्ना शाखाहरुलाई परिचालन गरेको जनाइएको छ ।
एनआरएनका अध्यक्ष पन्तका अनुसार बिहीबार साँझसम्म दुई दर्जनभन्दा बढी देशमा १० हजारभन्दा बढी कोरोना पीडितका लागि राहत वितरण गरिएको छ ।
यसैबीच एनआरएन कोभिड १९ उच्चस्तरीय समितिको बैठक आज बस्ने भएको छ । संघका महासचिब डा हेमराज शर्माका अनुसार बैठकले कोरोना पीडितका लागि राहत वितरणको नयाँ नीति तय गर्ने छ ।