वासिंटन डिसी । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट सोमबारसम्म ५ लाख मानिसको ज्यान गएको पुष्टी भएको छ । संसारमा सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ५ लाख ७१ जनाको ज्यान गइसकेको पुष्टी भएको छ ।
यो आंकडालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले एक दुखद पक्ष भएको बताएका छन् । उनका अनुसार पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको युद्धमा मृत्यु भएका सबै अमेरिकीभन्दा कोरोनाले बढी मानिसको ज्यान गएको छ । यो हृदयविदारक भएको उनको भनाई छ ।
सोमबार ह्वाइटहाउसमा संचारमाध्यमसामु उपस्थित राष्ट्रपतिले एउटा राष्ट्रको रूपमा कठोर अवस्था स्वीकार गर्नुको विकल्प समेत नभएको बताए । उनले लामो समयदेखिको लडाईले अब अमेरिकालाई अझ बलियो बनाउनु पर्ने भन्दै विक्षिप्त हुने समय नभएको समेत बताए ।
परिवार, समुदाय र देशलाई विभाजित गर्ने गलत सूचनाको राजनीति रोक्नुपर्ने भन्दै उनले सबै अमेरिकी एक भएमात्र लडाई जितिने उल्लेख गरे । बाइडेनले कोरोनाबाट ज्यान गुमाएकाहरूको सम्झनामा पाँच दिन राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।
संघीय सरकारमातहतका सबै कार्यालय र सैनिक बेसमा अमेरिकी झन्डा झुकाइने भएको छ । कोरोनाबाट संसारभर २४ लाख ८४ हजार मानिसको मृत्यु भइसकेको छ । यसमध्ये १९ प्रतिशत मानिस अमेरिकाका ज्यान गुमाउने छन् ।