विश्व बजारमा कच्चा तेलको मूल्य फेरि उकालो,एकसातामै १४ डलर बढ्यो

काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १२४ अमेरिकी डलर पुगेको छ ।

पछिल्लो एक सातामै कच्चा तेलको मूल्य प्रतिब्यारेल १४ डलर बढेको छ । गत मंगलबार कच्चा तेलको मूल्य प्रतिब्यारेल ११० डलर थियो । यस्तै, डब्लूटीआई तेलको मूल्य १२० डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तेल उत्पादक मुलुकहरुको संगठन ओपेकले तेल उत्पादनमा हालको मात्रालाई नै यथावत राख्न सक्ने भएकाले मूल्यमा दबाब परेको हो ।

त्यस्तै, विश्वकै तेस्रो ठूलो तेल उत्पादक रुसबाट आयात हुने ९० प्रतिशत तेल कटौती गर्न युरोपेली संघ (ईयू) सैद्धान्तिक रुपमा तयार भएकाले पनि तेलको मूल्य उकालो लागेको जनाइएको छ ।

गत फ्रेबुअरी तेस्रो सातादेखि रुसले युक्रेनमा आक्रमण गरेसँगै पश्चिमा देशहरुले रुसबाट तेल र ग्यास आयातका कटौति गरेका छन् । रुसी तेल प्रतिबन्धकै कारण अहिले विश्वको आपूर्ति श्रृंखलामा समस्या आएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा कच्चा तेलको मूल्य बढेसँगै नेपालमा समेत प्रभाव पर्ने देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा तेल महँगिएपछि भारतले पनि महँगोमा किनेर नेपाललाई बेच्ने भएकाले त्यसको प्रत्यक्ष असर पर्ने देखिन्छ ।