काठमाडौं । नेपालले विश्व बैंकबाट थप १५ करोड अमेरिकी डलर (१८ अर्ब भन्दा बढी) ऋण लिने भएको छ । नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न तथा वित्तीय सेवामा पहुँच बढाउनका लागि विश्व बैंकले सो रकम ऋण सहायता स्वरुप नेपाललाई उपलब्ध गराउने भएको हो । बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले ऋणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
कोभिड महामारी, जलवायु परिवर्तनजस्ता जोखिमहरुको सम्बोधन गर्नुका साथै डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणका आयोजनाहरुलाई सम्पन्न गराउन सो ऋण सहायताले सहयोग पुर्याउने अर्थ सचिव मरासिनीले बताए । यो रकमले पुँजी, बिमा र प्रकोप जोखिम लगायत सम्बद्ध वित्तीय बजारहरु खोल्न र नविनतम सेवाहरुलाई प्रवर्द्धन गर्न मद्दत गर्ने मरासिनीले बताए । निजी क्षेत्रलाई सहयोग पुर्याउने गरी वित्तीय कार्यशैली सुधार गर्न पनि यो ऋण सहायता उपयोगी हुने अर्थ मन्त्रालयले जनाएको छ ।