विश्व वातावरण दिवस मनाइंदै

Getty Images\file

काठमाडौं । विश्व वातावरण दिवस आइतबार संसारभर एक साथ मनाइंदैछ । जुन ५ मा विश्व वातावरण दिवस मनाउँदै वातावरण संरक्षणमा चासो र चिन्ता व्यक्त गरिन्छ । यस वर्ष दिवसको नारा ‘केवल एउटा पृथ्वी’ रहेको छ । वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो । यस दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५० वर्ष अघिदेखि मनाउन थालिएको दिवसको सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको उल्लेख गरेकी छिन् ।

प्रकृतिको स्वाभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापले पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रतिको संवेदनशीलता वृद्धि भएको उनको भनाई छ । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गइ जलवायु परिवर्तन हुँदा संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको बताएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिदै उहाँले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपदबाट जनधनको क्षतिजस्ता असर बढेको बताएका हुन । यस दिन वृक्षरोपण र जनचेतनामुुलक कार्यक्रमहरु बढी आयोजना गरिन्छन् ।