वीरगन्ज । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज र नवलपरासीका एक-एक जनाको मृत्यु भएको हो । बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको आज बिहान ज्यान गएको छ ।
उनी मुटु र दमको समस्याबाट पिडित समेत रहेका थिए । उनको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा ज्यान गएको हो । यससँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।
मृत्यु भएका ५५ जनामध्ये पर्साका ३९ जना, बाराका १२ जना र रौतहटका ४ जना हुन् । पर्सामा मृत्यु भएका दुई जनाको ठेगाना खुलेको छैन । उता, भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिमकी एकजना कोरोना संक्रमित महिलाको ज्यान गएको छ ।
रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो । उनी भदौ १५ मा अस्पताल भर्ना भएकी थिइन् ।