काठमाडौं । वैदेशिक रोजगारीमा जान एक महिनाको अवधिमा ६३ हजार मानिसले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा ६३ हजार ४२ ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहचलले जनाएको छ । गत आवको साउनमा २५ हजार चार सय २८ ले मात्र श्रम स्वीकृति लिएका थिए ।
साउनमा सबैभन्दा बढी मलेसियाका लागि २४ हजार चार सय ८४ श्रम स्वीकृति दिइएको छ । कतारमा १२ हजार पाँच सय ७०, संयुक्त अरब इमिरेट्समा आठ हजार एक सय ४०, साउदी अरेबियामा छ हजार सात सय पाँच र कुवेतमा चार हजार दुई सय ८४ श्रम स्वीकृति जारी भएको छ ।
पाँच देशले मात्रै कूल श्रम स्वीकृतिको ९० प्रतिशत हिस्सा ओगट्छ । कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने ३२ प्रतिशत छन् भने पहिलोपटक लिने ६८ प्रतिशत छन् । श्रम स्वीकृति लिनेमध्ये करिब १० प्रतिशत महिला छन् ।