व्यापारीमाथिको हस्तक्षेप रोक्न बालेनलाई संघको आग्रह

काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघले व्यापारीमाथिको हस्तक्षेप रोक्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई आग्रह गरेको छ । संघको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई वार्तामार्फत् समस्याको समाधान निकाल्न सकिने भन्दै व्यापारीथिको हस्तक्षेप रोक्न अनुरोध गर्ने निर्णय गरेको छ । घरधनी र महानगरको लडाइँमा व्यापारी परेको संघको भनाई छ । वार्ता र कानुनी तरिकाबाट पनि समस्या समाधान गर्न सकिने संघले बताएको छ ।

महानगरको सर्वपक्षीय विकासका लागि उद्योगी व्यवसायीहरुले सधैं सक्रिय र क्रियाशील हुँदै आएको भन्दै संघले विस्थापित व्यवसायीहरुलाई प्रक्रियागत तवरले उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग समेत गरेको छ । व्यवसायलाई अन्य स्थानमा पुनर्स्थापना गर्नका लागि सार्वजनिक सूचना पर्याप्त नभएको भन्दै संघले समय थप गरी यो प्रक्रियामा वास्तविक दोषीलाई कानुनी कठघरामा ल्याई कारबाही गर्न माग गरेको छ । एकतर्फी रुपमा जबरजस्ती व्यवसायीहरुलाई विस्थापित हुने कार्य तत्काल बन्द गरी उचित समाधानका लागि संघले महानगरसँग अनुरोध समेत गरेको छ