शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय खोलिने

काठमाडौं । सरकारले शताब्दी पुरूष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना र संचालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले मंगलबार जोशीको निवासमै पुगी यसबारेमा जानकारी गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीको नाममा विद्यालय स्थापना गर्ने चाहना व्यक्त गरेको सन्देश लिएर मन्त्री ललितपुरमा रहेको जोशी निवास पुगेका थिए।

मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायिक विद्यालय खोल्ने तयारी थाल्न र जोशीले चाहेकै स्थानमा विद्यालय स्थापना गर्न सरकारले पहल गरेको जानकारी गराए । राष्ट्रपतिले संस्कृतिविद् जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन र उहाँको नाममा विद्यालय स्थापना गर्न चाहना व्यक्त गरेपछि राष्ट्रपतिको सन्देश लिएर आफु जोशीको निवास आएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार विद्यालय नेपालकै नमूना र सामुदायिक विद्यालयको उत्कृष्ट सूचीमा पर्ने गरी संचालनको योजना छ । सरकारले आगामी आवबाट बजेट समेत राख्ने उनको भनाई छ । विद्यालयको नाम सत्यमोहन जोशी माध्यमिक विद्यालय राखिने भएको छ । जोशीलाई नेपालका जिवित इतिहास मानिन्छ ।