काठमाडौं । पार्टी भित्रको आन्तरिक विवादमा यसअघि केन्द्रमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आजको दौडधुपपछि भने केही बेचैन भएको देखिएको छ । वालुवाटारमै पार्टी भित्रका अनेक बैठक बहिष्कार गर्दै आएका प्रधानमन्त्री ओली आज भने कार्यकारी अध्यक्ष प्रचण्डदेखि मन्त्रीहरुलाई समेत भेट्न उनीहरुको निवासमै धाए । उनको यो दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्री यसअघि आक्रामक थिए । तर, उनीविरुद्ध पार्टी भित्र र बाहिर माहौल प्रतिकुल बन्दै गएपछि अन्ततः प्रधानमन्त्री आफै माहौल साम्य बनाउन कम्मर कसेर लागेका छन् । शनिबार उनी दिनभरजसो राजनीतिक भेटवार्तामा व्यस्त भए । ति भेटवार्ता आज केवल वालुवाटारमा सिमित भएनन् ।
आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका उनले आफ्ना विरुद्धको आरोप पत्र फिर्ता दिन आग्रह गरे । प्रचण्डले विवादास्पद अध्यादेश फिर्ता लिन गरिएको सहमति कार्यान्वयन गर्न र विगतका सहमति कार्यान्वयमा जोड दिए ।
दुई अध्यक्षबीच भेटवार्ता भएकै समयमा उपाध्यक्ष वामदेव गौतम खुमलटार पुगे । खुमलटारमा तीन नेताबीच झण्डै २ घण्टा छलफल भएको हो । खुमलटारबाट निस्किएपछि भने ओली नेकपा सचिवालय तथा गृहमन्त्री रामबहादुर थापाको सरकारी निवास पुल्चोक पुगेका थए ।
त्यहाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल समेत आए । यसरी आज दिनभर जसो प्रधानमन्त्री महत्वपूर्ण भेटवार्तामा सहभागी भएका छन् ।
उता, प्रधानमन्त्री निस्किएपछि भने पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । मन्त्री निवासबाट निस्किएका प्रधानमन्त्री त्यसपछि भने राष्ट्रपति निवास बालुवाटार पुगेका थिए । यो भेटवार्ताको विषयवस्तु भने खुलेको छैन ।