काठमाडौं । शनिबार देशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेकाले सचेत रहने मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ । प्रदेश१, प्रदेश २ र काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ । काठमाडौंमा भने भिषण वर्षा जारी छ । दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाई छ । दिउँसो र राति प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ । आगामी तीन दिनसम्म नै देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी समेत पर्ने सम्भावना रहेको बताइएको छ ।
पहाडी भू–भागमा पहिरो तथा नदीमा पानीको बहाव बढ्ने भएकाले बाढीको जोखिम हुने भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झापाको चन्द्रगढी विमानस्थल आसपासमा धेरै पानी परेको र थप पानी पर्ने सम्भावना रहेको छ । चन्द्रगढी विमानस्थलमा रहेको वर्षामापन केन्द्रको विवरण अनुसार पछिल्लो १२ घण्टामा झण्डै एक सय ५२ मिलीमिटर पानी परिसकेको छ । अझै पानी पर्ने सम्भावना रहेको शाखाको विवरणमा उल्लेख छ ।