शनिबार बन्चरे डाँडामा फालियो १५२ गाडी फोहोर

काठमाडौं । शनिबारबाट काठमाडौंमा फोहोर संकलन शुरु भएको महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी गराएका छन् । उनका अनुसार शनिबार १५२ वटा गाडी फोहोर बञ्चरे डाँडामा पुगेको छ । शनिबार स्थानीयले समेत अवरोध नगरेको उनले जानकारी गराएका छन् । अब कुनै अवरोध नभए दैनिक २५० देखि ३५० वटा गाडी बन्चरे डाँडा लैजाने लक्ष्य छ । काठमाडौं महानरपालिकामा दैनिक ७५ र अन्य पालिकाबाट दैनिक ७५ गरी दैनिक १५० गाडी फोहोर उठ्ने गरेको छ ।

मेयर बालेनका अनुसार फोहोर व्यवस्थापनमा सरोकारवाला सबैको सहयोगको अपेक्षा महानगरपालिकाले गरेको छ । उनले कुनै पनि हालतमा बन्चरे डाँडाको अवस्था सिस्डोलको जस्तो नहुने प्रतिवद्धता समेत जनाएका छन् । बन्चरे डाँडामा विभिन्न माग राख्दै स्थानीयले गरेको अवरोधले पटक पटक फोहोर संकलनको काम प्रभावित बनेको छ । यसले काठमाडौं उपत्यका कुरुप बनिरहेको छ ।