शनिवारीय तस्वीर समाचार : जुम्लाको स्याउदेखि वीरगन्जको गुलमोहसम्म

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ स्थित जलजला क्षेत्रबाट देखिएको सिस्ने हिमाल । ५ हजार ९११ मिटर उचाइको सिस्ने हिमाल रुकुम क्षेत्रको प्रमुख आकर्षण हो। तस्बिर : कुलदीप न्यौपाने / रासस

३ जेठ, काठमाडौं । मौसम परिवर्तनसँगै यतिबेला देशैभर अपर्झट वर्षा हुने क्रम जारी छ । हिमालहरु खुल्न थालेका छन् । तराई भेगमा भने चर्को गर्मी छ । वसन्त ऋतुको अन्त्य हुने क्रम जारी छ । बोटविरुवामा नयाँ पालुवा पलाएको छ । यस अंकमा शनिवारीय तस्वीर कथा राखिएको छ । जसमा जुम्लामा स्याउका बगैचादेखि वीरगन्जको गुलमोहसम्म उल्लेख छ ।

सावित्री अर्थात् वर्साइत पर्व नजिकिँदै गर्दा सुनसरीको कोसी गाउँपालिकाको लौकही बजारमा बिक्री गर्न राखिएको चङ्गेर र बैना । चङ्गेर र बैना प्रतिगोटा २५० रुपियाँले बिक्री हुने व्यापारी बताउँछन् । तस्बिर : नवीन गड्तौला / रासस
झापाको बिर्तामोडबाट खुदुनाबारी हुँदै इलाम जाने सडकमा पर्ने बिरिङ खोलामा भत्किएको पुलमा सवारीसाधन मार्फत जोखिमपूर्ण यात्रा गर्दै स्थानीय । तस्बिर : राजकुमार ओली रासस
वीरगन्जस्थित मधेस विश्वविद्यालय परिसरमा ढकमक्क फुलेको गुलमोहर । शुक्रबार पानी परेपछि यहाँको मौसम खुलेको छ । तस्बिर : हिमाल लम्साल / रासस
जुम्लाको गुठीचौर गाउँपालिका-४स्थित स्थानीयको स्याउ बगैँचा । वैशाखको दोस्रो साता परेको असिना पानीले स्याउ बगैँचामा क्षति गरेपछि उत्पादनमा कमि आउने भएको छ । तस्बिर : विजय रावत / रासस
सिरहाको लहान-१ स्थित मटिहर्वा चोकमा शनिबार बिहान तरकारी तथा कृषि उपज किनबेच गर्दै स्थानीय । यहाँका किसानले आफूले उत्पादन गरेका कृषि उपज बिक्रीका लागि स्थानीय बजारमा ल्याउने गरेका छन् । तस्बिर : सुदिप राउत / रासस