शरणार्थीलाई परिचयपत्र वितरणको तयारी

काठमाडौं । सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने भएको छ । सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले यस्तो जानकारी गराए ।

छुटेकाहरुलाई उनीहरुको परिचयपत्र बनाउने सन्दर्भमा गृहकार्य भइराखेको छ । उनीहरुले पनि नेपालमा सहज जीवन जिउन सक्नुहोस् भन्ने नै हाम्रो सद्भाव रहेको छ’ गृहमन्त्री खाँणले भने ।
नेपालमा रहेका सबैको मानव अधिकारका विषयमा सरकार सजग रहेको उनले बताए ।
मन्त्री खाँणले यसैमा थपे, ‘मान्छेहरु दुनियाँका जुनसुकै कुनामा जन्मिएको भए पनि उनीहरु मानव हुन्, नागरिकहरु नै हुन् । उनीहरुको पनि मानव अधिकार रहेको छ । नेपालमा पनि विभिन्न काल खण्डमा बिभिन्न भू-भागबाट आएर बसेका शरणार्थीहरु हुनुहुन्छ । ती हशरणार्थीहरु पनि मानव नै हुन् । त्यसकारण उनीहरुको जीवनयापन सहज होस्, उनीहरुले मानव अधिकार प्राप्त गरुन भन्ने नै सरकारको चाहना छ ।’