काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको पुरस्कार राशी बढेको छ । अब विजेताले ७५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । यसअघि ए डिभिजन लिग विजेता क्लवको पुरस्कार राशी ५० लाख थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज आइतवार डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने निर्णय गरेको हो । नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउने एन्फाको भनाई छ ।
एन्फाले क्लबलाई तयारी खर्चका लागि २०, २० लाख रुपैयाँसमेत उपलब्ध गराउने छ । एन्फाले लिग सुरु हुने मिति भने सारेको छ । परिवर्तन गरिएको तालिकाअनुसार लिग आउँदो कात्तिक २९ गतेदेखि हुनेछ । ए डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरिएको हो । यही छलफलबाट सहभागी क्लब लिग खेल्न सहमत भएको एन्फाको भनाई छ ।
यसअघि ललितपुरका चार क्लबले कोरोना महामारीलाई कारण दिएर असोज ३ गतेदेखि लिग खेल्न नसक्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए । साथै, अक्टोबर पहिलो साता साफ च्याम्पियनशिपको आयोजनाको सम्भावना समेत रहेको छ ।