काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई शान्तिको नेतृत्व गर्न आग्रह गरेका छन्। अमेरिकी कङ्ग्रेसलाई गरेको ऐतिहासिक सम्बोधनको अन्त्यमा उनले बाइडनलाई विश्वका र शान्तिका नेता बन्न आग्रह गरेको बीबीसीले लेखेको छ । “राष्ट्रपति बाइडन, तपाईँ आफ्नो देशका नेता हो। म तपाईँ विश्वका नेता हुनुहोस् भन्ने कामना गर्छु। विश्वका नेता हुनु भनेको शान्तिका पनि नेता हुनु हो,” उनले आफ्नो सम्बोधनको अन्त्यतिर भने।
भावुक मुद्रामा प्रस्तुत भएका जेलेन्स्कीले थप युक्रेनी बालबालिकाहरूको मृत्यु रोक्न नसके “जीवनको अर्थ नदेखेको” बताएका थिए। अमेरिकामा शान्ति कायम गर्न देशका राष्ट्रपति र जनतामा मात्रै निर्भर नरहने भन्दै उनले भने(“त्यो तपाईँको वरपर र अरू शक्तिशालीहरूमा पनि भर पर्छ।” उनले आफ्नो देशका जनताहरू आफ्ना लागि मात्रै नभएर युरोप र विश्वको मान्यताका लागि पनि युद्ध लडिरहेको बताए।