शिकागो । अमेरिकाको शिकागो सहर नजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडमा ६ जनाको मृत्यु हुने गरी बन्दुक आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय समय अनुसार दश बजे अचानक विस्फोटक आवाज सुनिए पछि इलिनोइसस्थित हाइल्यान्ड पार्क सहरमा आयोजित कार्यक्रम रद्द भएको थियो। अधिकारीहरूका अनुसार २४ जनालाई अस्पताल लगिएको छ। घटनामा संलग्नताको सन्दिग्ध २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीय हुन्। हतियारधारी ती व्यक्तिलाई प्रहरीले खतरनाकको संज्ञा दिएको छ।
सन्दिग्धले उच्च क्षमता भएको राइफलले परेडमा सहभागीहरूलाई लक्षित प्रहार गरेको प्रहरीले जनाएको छ। सन्दिग्ध बन्दुकधारीले परेड सुरु भएको केही मिनेट पछि, स्थानीय समय अनुसार १०ः१५ मा गोली चलाएका थिए। सहरको स्वतन्त्रता दिवस समारोहमा साङ्गीतिक र्यालीदेखि अन्य सामुदायिक मनोरञ्जनात्मक कार्यक्रमहरू तय भएका थिए। तर, वर्षको सर्वाधिक रमाइलो दिनहरू मध्ये एक हुनु पर्ने उक्त दिनमा आतङ्क मच्चियो।
घटनास्थलमा उपस्थित मानिसहरू भाग दौड गर्दा विभिन्न किसिमका कुर्सी तथा झोलाहरू सडकभरि यत्रतत्र छाडिए। सन्दिग्ध व्यक्तिले नजिकैको पसलको छतबाट आम मानिस लक्षित गोली प्रहार गरेको ठानिएको छ। त्यहाँबाट प्रहरीले बन्दुकको प्रमाण बरामद गरेको छ। गोलाबारीमा परी पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारको क्रममा नजिकैको अस्पतालमा मृत्यु भएको हत्या सम्बन्धी अनुसन्धान गर्ने स्थानीय अधिकारीले बताए।
‘स्वतन्त्रता मनाउन जम्मा भएका हामीले एउटा दुःखद घडीको शोक मनाउँदै छौँ,’ सहरका मेयर न्यान्सी रोटरिङले भनिन्। सन् १७७६ मा ग्रेट ब्रिटेनबाट स्वतन्त्र भएको उपलक्ष्यमा अमेरिकी उपनिवेशहरूले हरेक वर्ष ४ जुलाईको दिन राष्ट्रिय बिदा मनाउँछन्। घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूले गोली चलेको आवाज सुने पछि भयावह बनेको परिस्थितिबारे वर्णन गरेका छन्।
बीबीसी