शिकागो । स्वतन्त्रता दिवसको अवसरमा शिकागोनजिकै आयोजित एक सार्वजनिक कार्यक्रममा बन्दुक आक्रमण गर्ने व्यक्तिलाई सात वटा हत्याको आरोप लगाइएको छ । लेक काउन्टी राज्यका अधिवक्ता एरिक राइनहार्टले २१ वर्षीय रोबर्ट क्रेमोलाई सजाय दिइने बताएका छन् । हाइल्यान्ड पार्कमा भएको आक्रमणमा परी सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए। राइनहार्टका अनुसार अनुसन्धानका क्रममा उनी विरुद्ध थप आरोप दर्ता गरिनेछ। ‘अहिले दर्ता गरिएको आरोप क्रेमोविरुद्ध दर्ता गरिने थुप्रै आरोपहरू मध्ये पहिलो हा,’ उनले मङ्गलवार एक पत्रकार सम्मेलनमा भने।
सन्दिग्धले उच्च क्षमता भएको राइफलले परेडमा जम्मा भएको भिड लक्षित ७० वटा गोली प्रहार गरेका थिए। त्यसपछि उनी पीडितहरूसँगै भाग्नका निम्ति महिलाको भेषमा देखिएका थिए। सोमवार आठ घण्टा लामो अनुसन्धान पछि प्रहरीले क्रेमोलाई पक्राउ गर्यो र उनीबाट आक्रमणमा प्रयोग गरिएको जस्तै दोस्रो राइफल बरामद भयो। उनको घरमा अन्य तीन वटा हतियार फेला परेको प्रहरीले जनाएको छ। ती सन्दिग्ध व्यक्तिले गत वर्ष पाँच वटा बन्दुक खरिद गर्नु अघि कानुनी जानकारसँग दुई पटक सम्पर्क गरेको प्रहरीले जानकारी दिएको छ।
सन् २०१९मा आत्महत्या गर्ने प्रयास गरेको बताइएको एक साता पछि प्रहरीलाई ती व्यक्तिको घरमा बोलाइएको थियो। सोही वर्ष सेप्टेम्बरमा एक परिवारका सदस्यले प्रहरी समक्ष क्रेमोले सबैलाई मार्ने हिंसात्मक धम्की दिइरहेको बताएका थिए। त्यति बेला प्रहरीले उनको घरबाट १६ वटा चक्कु, एउटा भाला र एउटा तरबार जफत गरेको थियो। उनी पक्राउ भने परेनन् र उनी विरुद्ध थप कारबाही पनि भएन।
अधिकारीहरूले मङ्गलवार राज्यको रेड फ्ल्याग कानुनहरूबारे सचेतना अभियान सञ्चालन गर्न आह्वान गरे जसले न्यायाधीशलाई खतरनाक मानिने व्यक्तिलाई उनीहरूको हतियार जफत गर्न र थप बन्दुकहरू किन्नबाट प्रतिबन्ध लगाउन आदेश दिने अनुमति दिन्छ। क्रेमो बुधवार अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ। सरकारी वकिलले पत्रकार सम्मेलनमा उनी विरुद्ध लगाइने आरोपहरू पढ्दा त्यहाँ मानिसहरू खुसी हुँदै ताली बजाएका थिए ।
बीबीसी