काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद सहमतिमा टुंगिएको छ । करीव साढे दुई महिनायता शीर्ष नेतृत्वबीचको पानी बाराबारसम्मको विवाद शुक्रबार करीव ७ घण्टा लामो छलफल र वार्तापछि टुंगिएको हो ।
सहमति अनुसार अब कांग्रेसको १४ औं महाधिवेशन ०७७ फागुन ७ मै हुने पक्का भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासहितका नेता शुक्रबार बूढानीलकण्ठमा झण्डै ७ घन्टा छलफलमा जुटेका हुन् ।
संस्थापन पक्षले महाधिवेशनको कार्यतालिकासहित मिति तोकेपछि शुरु भएको विवाद सहमतिमा टुंगिएको हो ।
शीर्ष नेताको सहमति अनुसार नै अब आइतबार केन्द्रिय समिति बैठक बस्नेछ । उक्त बैठकमा भने सबै नेताले भाग लिने भएका छन् ।
सहमतिका लागि वरिष्ठ नेता कृष्ण सिटौलाले पहल थालेका थिए ।
अब १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति २०७७ फागुन ७–१० मै हुने र त्यसको कार्यतालिका र कार्यविधि चाँहि संशोधन हुने सहमति जुटेको छ ।
शीर्ष नेताहरुबीच क्रियाशील सदस्यता छानविन गर्ने सहमति भएको छ ।
कांग्रेस शीर्ष नेताहरुबीच भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन ६ महिनाभित्र गर्ने गरी तदर्थ समिति गठन गर्ने सम्बन्धमा समेत सहमति जुटेको हो ।