काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। कांग्रेस सभापतिसमेत रहेका देउवाले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रूवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा भक्तपुरबाट मतदान गरेका छन् । उनले बालकोटमा रहेको महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहले ज्योतिष शास्त्र अनुसार साइत हेरेर भोट हालेका छन् । उनले हेरेको साइत अनुसार ११ बजेर ३ मिनेटमा भोट खसाएको बताए ।
भरतपुरको मेयरको उम्मेदवार रेणु दाहालले पनि पुलिस स्कुलबाट मतदान गरेकी छन्। नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले युवक मावि पक्नाजोलमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेकी छन् । सिर्जनासँगै पुगेका उनका श्रीमान तथा कांग्रेस नेता प्रकाशमान सिंहले पनि मतदान गरेका छन्। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन्। झापाको हल्दीबारी गाउँपालिकाको कार्यालय केन्द्रबाबाट उनले मतदान गरेका हुन्।
राप्रपा नेपाल पार्टीका अध्यक्ष कमल थापाले हेटौंडा आएर मतदान गरेका छन्। उनले हेटौंडा उपमहानगरपालिका–६ मा रहेको वंश गोपाल माविमा रहेको मतदान स्थलबाट मतदान गरेका हुन् । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मतदान गरेका छन्। आज बिहान गोरखाको सिरानचोक गाउॅंपालिकाको जौबारीस्थित परोपकार आदर्श माविमा पुगेर श्रेष्ठले मतदान गरेका हुन्। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचन सदस्य निर्वाचनमा मतदान गरेका छन्। इलामको सूर्योदय नगरपालिका– ९ स्थित रमफोकस्थित राष्ट्रिय आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन्।