काठमाडौं । शुक्रबार सार्क राष्ट्रका विदेशमन्त्रीहरूको भर्चुअल बैठक आयोजना हुने निश्चित भएको छ । भारतीय विदेशीमन्त्री एस जयशंकरले सहभागिता निश्चित गरेसँगै बैठक समेत संचालन हुने भएको हो । बैठकको नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने छन् ।
भारत र पाकिस्तान विवादका कारण यी दुबै मुलुकका विदेश मन्त्री सहभागी हुने वा नहुने निश्चित थिएन । तर, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सार्कमा विदेशमन्त्रीहरूको भर्चुअल बैठकमा विदेशमन्त्री जयशंकर सहभागी हुने पुष्टि गरेका छन्।
पछिल्लो समय भारतले सार्कलाई प्राथमिकतामा राख्न लागेको छ । यसअघि भारतको प्राथमिकतामा सार्क थिएन ।
सार्क अध्यक्ष राष्ट्र नेपाल भएकाले सो बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले गर्ने भएका हुन् । बैठकमा सार्कका आठवटै सदस्य राष्ट्रको सहभागी हुने निश्चित भएको हो ।