शुरु भयो चट्याङ्ग र मेघगर्जनको याम

काठमाडौं । नेपालमा चट्याङ्ग र मेघगर्जनसहित हावाहुरी चल्ने याम शुरु भएको छ । आइतबार पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको हो ।

आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको छ । अहिले पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ भने तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ। पश्चिमी वायुको प्रभाव कायमै रहने भएकाले भोलि र पर्सि पनि पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने र केही ठाउँमा मेघगर्जनसहित चट्याङ्ग र वर्षा हुनसक्ने अनुमान छ । मौसमविद्ले चट्याङ्गको सम्भावना रहेकाले खेतीपातीको काम गर्दा ध्यान दिन आग्रह गरेका छन् ।