काठमाडौं । जापानको राजधानी टोकियोमा शुक्रवारबाट ३२ औँ गृष्मकालीन ओलिम्पिक्स सुरु भएको छ । एक भब्य कार्यक्रमका बीच आज सम्पन्न भएको उद्घाटनमा सहभागी मुलुकले मार्चपास गरेका छन् । नेपालका तर्फबाट खेलमा सहभागी पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले उद्घाटन समारोहमा संयुक्त रूपमा नेपालको झन्डा बोकेका छन् । नेपालबाट चार खेलका पाँच खेलाडीसहित २६ सदस्यीय टोली अहिले जापान पुगेका छन् ।
नेपाली खेलाडीको शनिबारबाटै शुरु हुँदैछ । शनिवार शुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दैछिन् । जुडोकी सोनिया भट्टले ४८ केजी मुनिको तौल समूहमा खेल्ने तालिका छ । भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना रहेकी छिन् । जुलाई २७ मा पौडीका एलेक्स शाहले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले सोही इभेन्ट्समा खेल्ने भएका छन् ।
जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनेछिन्। नेपालबाट १२ जना खेलाडीहरूले वाइल्ड कार्डका लागि प्रयास गरेकोका थिए । त्यसबाट दुई जनाले मात्र पाउन सफल भएका थिए। कराँते, भारोत्तोलन, बक्सिङ, आर्चरी र तेक्वान्दोका खेलाडीहरूले वाइल्ड कार्ड पाउन सकेनन्। पाराओलिम्पिक्समा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन्।
