काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनी लगातार दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् । मंगलबार बिहान आएको मतपरिणाममा उनले शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गरे । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो । सभापतिमा निर्वाचित हुन २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए । कोइरालाको पक्षमा १८५५ मत खस्यो । ३५ मत बदर भयो ।
सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिमा पहिलो र दोस्रो भएका देउवा र कोइरालाबीच दोस्रो चरणको निर्वाचन भएको हो । २०७२ मा भएको कांग्रेसको १३औं महाधिवेशनमा समेत देउवाले दोस्रो चरणमा सभापति जितेका थिए । त्यो बेला रामचन्द्र पौडेल र कृष्ण सिटौला उनको प्रतिस्पर्धी थिए ।