श्रममन्त्री श्रेष्ठ यूएईमा, के के छन् कार्यक्रम ?

यूएई । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ विभिन्न तीन मुलुकको भ्रमणका क्रममा संयुक्त अरब इमिरेट्स यूएई पुगेका छन् । सो मुलुकमा मंगलबार नेपाल र संयुक्त अरब इमिरेट्स यूएईको संयुक्त समिति बैठक बस्दैछ । आबुधाबीमा बस्ने बैठकको उद्घाटन सत्रलाई मन्त्री श्रेष्ठले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । कार्यक्रममा यूएईका मानव संसाधन मन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारले समेत सम्बोधन गर्नेछन् । उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्ने कार्यक्रम छ ।

बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम सम्झौता कार्यान्वयनबारे समीक्षा हुनेछ । बैठकमा वैदेशिक रोजगारीका लागि यूएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सिप विकास, पारिश्रमिक वृद्धि लगायतका विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ । पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीको समस्या समाधानबारे पनि छलफल हुने बताइएको छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली सोमबार यूएईको राजधानी आबुधाबी पुगेको हो । श्रममन्त्री श्रेष्ठ र यूएईका समकक्षी डा अब्दुलरहमान अब्दुलमानन अल अवारबीच भेटवार्ताको समेत कार्यक्रम छ ।