काठमाडौं । चरम आर्थिक संकट सामना गरिरहेको दक्षिण एशियाली मुलुक श्रीलंकाले ५१ अर्ब डलर विदेशी ऋण तिर्न नसक्ने घोषणा गरेको छ ।
मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अन्तरिम अवधिका लागि विदेशी ऋण तिर्न नसक्ने जानकारी दिएको हो ।महिनौंको विदेशी मुद्रा संकट र आर्थिक उथलपुथलपछि अन्तिम उपाय स्वरुप सबै विदेशी ऋण ‘डिफल्ट’ गर्ने निर्णयमा पुगेको श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर पी. नन्दलाल वीरासिंघेले जानकारी गराएका छन् ।
मंगलबारदेखि ऋणदाताहरु कुनै पनि ब्याज भुक्तानी पूँजीकरण गर्न वा श्रीलंकाली रुपैयाँमा भुक्तानीको विकल्प रोज्न स्वतन्त्र रहेको श्रीलंकाको अर्थमन्त्रालयले बताएको छ । आर्थिक स्थिति थप खस्किन नदिन अन्तिम उपायका लागि मात्र यो आपतकालीन कदम चालिएको विज्ञप्तिमा उल्लेख छ ।
श्रीलंकाले हाल ठूलो मात्रामा आयात रोक्नुका साथै विदेशी मुद्रा सिञ्चिती जोगाउने उपाय खोजिरहेको जनाएको छ । अर्थशास्त्रीहरूले भने सरकारको व्यवस्थापकीय क्षमता कमजोर हुँदा यस्तो अवस्था उत्पन्न भएको टिप्पणी गरेका छन् । एजेन्सी