श्रीलंका संकटः रोकिएन प्रदर्शन, राजापाक्षेले लिए नौसेनाको आधारमा शरण

काठमाडौं । श्रीलंकामा आर्थिक संकटबाट उत्पन्न असन्तुष्टिले अब गृहयुद्ध निम्त्याउन सक्ने देखिएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएसँगै देशैभरि हिंसात्मक घटनाहरु बढ्न थालेका छन् । राजधानी केन्द्रीत हिंसात्मक घटना भएसँगै सोमबार पदबाट राजीनामा दिएका राजापाक्षेले कोलम्बो छाडेका छन् ।

मिडिया रिपोर्टका अनुसार निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार पूर्वी श्रीलंकाको त्रिन्कोमाली नौसेना बेसमा शरण लिन पुगेको छ । उनीहरुलाई हेलिकप्टरबाट बेसमा लगिएको जनाइएको छ । तर, बेसमा लगिएको जानकारी पाएपछि आन्दोलनकारी बेसबाहिर जम्मा भएका छन् ।

पछिल्लो हिंसामा मात्रै श्रीलंकामा ८ जनाको मृत्यु भइसकेको छ भने २०० भन्दा बढी घाइते भएका छन् । कोलम्बो नेसनल अस्पतालका अनुसार २ सय १७ जना घाइतेलाई उपचारका लागि भर्ना गरिएको छ ।

महिन्दालाई पक्राउ गर्न माग

विपक्षी नेताहरुले मंगलबार महिन्दालाई पक्राउ गर्न माग गरेका छन् । महिन्द्राले शान्तिपूर्ण प्रदर्शनकारीलाई उक्साएको र हिंसा भड्काएको उनीहरूको भनाइ छ। प्रदर्शनकारीले सोमबार हम्बनटोटामा महिन्दा राजापाक्षेको पुर्खाको घरमा आगजनी गरेका छन् ।

यसैक्रममा राजधानी कोलम्बोमा पूर्वमन्त्री जोन्सन फर्नान्डोलाई कारसहित तालमा फालिएको थियो । प्रदर्शनकारीहरुले हालसम्म १२ जनाभन्दा बढी मन्त्रीको घर जलाइएका छन् ।

प्रधानमन्त्री निवासभित्र गाेली हानाहान

समाचार एजेन्सी एएफपीका अनुसार सोमबार हजारौं प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवास ‘टेम्पल ट्री’ को मुख्य गेट तोडेर आगजनी गरेका थिए। प्रदर्शनकारीले प्रधानमन्त्री निवास नै जलाउने तयारी गरेपछि टेम्पल ट्रीभित्र गोली हानाहान भएकाे थियाे । बताइअनुसार प्रदर्शनकारीकाे तर्फबाट पनि गाेली चलाइएकाे थियाे ।