नयाँ दिल्ली र भारतको राजधानी नयाँ दिल्लीले कोरोना भाइरसको उच्च संक्रमण दरलाई नियन्त्रणमा लिन सफल भएको छ । यससँगै अब लकडाउन खुकुलो बनाउने तयारी दिल्ली सरकारले गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत मात्र देखिएको छ । दिल्लीमा शुक्रबार ५२३ व्यक्तिमा मात्र संक्रमण देखियो । दिल्ली २ करोड भन्दा बढी जनसंख्या भएको घना शहर हो ।
यहाँ शुक्रबार ५० सङ्क्रमितको मात्र मृत्यु भएको पुष्टि गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक कोभिड–१९ सङ्क्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पार्ने घोषणाको तयारी गरिरहेका छन् ।
आगामी दिनमा कोभिड–१९ सङ्क्रमणका कारण बन्द बजारलाई केही खुकुलो पार्ने र कोरोनाभाइरसको तेस्रो लहरलाई सामना गर्न आवश्यक तयारीबारे पनि सरकारी संयन्त्र तथा नागरिकलाई निर्देशन दिने तयारी समेत उनले गरेका छन् । सरकारले जून ७ देखि बजार र अन्य गतिविधि संचालन गर्न दिने तयारी गरेको छ ।
सरकारले गत हप्ता उत्पादन तथा निर्माण क्षेत्रको प्रतिबन्धलाई अन्त्य गर्दै स्वास्थ्य सावधानीका साथ नियमित काममा फर्कन अनुमति दिएको थियो । दिल्लीमा अप्रिल १९ देखि लकडाउन जारी छ ।