संखुवासभा । प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर संखुवासभामा व्यस्त रहे । नेपाली सेनाको विशेष हेलिकोप्टर चढेर संखुवासभा पुगेका उनले किमाथांकास्थित सशस्त्र प्रहरीको बोर्डर पोष्टको अनुगमन गरे । कोशी करिडोर र अरुण तेस्रो जलविद्युत आयोजनामा समेत स्थलगत अनुगमन गरे ।
स्थानीय बासिसँग भेटे र स्थानीय जनप्रतिनिधिसँग छलफल समेत गरे । उनले स्थानीय पत्रकारसँग समेत कुरा गरेका छन् । त्यसक्रममा उनले आफु नेकपा अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहट्ने दावि गरेका छन् ।
आफु पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्री भएको भन्दै उनले बीचैमा राजीनामा दिन नमिल्ने बताए । उनले भने ,’हल्लाको पछि नलाग्नुस ।’
उनले पत्रकारले आफ्नो राजिनामाबारे बढी महत्व दिएको बारे समेत असन्तुष्टि पोखे । उनले भने ‘मैले पत्रकारहरुलाई राजीनामा दिनुपर्ने हो ?’
ओलीले आफू महाधिवेशनबाट निर्वाचित भएकाले अध्यक्ष पद समेत नछाड्ने बताए । कसैले चाहँदैमा आफुले पद छाड्न नमिल्ने उनको भनाई थियो । प्रधानमन्त्री बुधबार नै काठमाडौं फर्किएका छन् ।