संघीय संसदको बजेट अधिवेशन आजबाट

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । निर्वाचनका कारण ढिला गरि सुरु हुन लागेको अधिवेशनमा प्रिबजेट छलफल समेत प्रभावित हुने भएको छ । अघिल्ला वर्ष अधिवेशन वैशाख तेस्रो सातासम्म बोलाइसक्ने प्रावधान थियो । मङ्गलबार अपरान्ह ४ बजेबाट संसद्का दुवै सदनको बैठक प्रारम्भ हुनेछ । यस पटक बजेटका प्राथमिकता र सिद्धान्तको छलफल नियम निलम्बन गरेर अघि बढाउने तयारी छ । अधिवेशन प्रारम्भसँगै सरकारका तर्फबाट बजेटको सिद्धान्त र प्राथमिकता पहिलो बैठकमै पेस गर्ने तयारी छ ।

अधिवेशनको पहिलो बैठकमा अध्यादेश पेस हुनेछ । अधिवेशन सिफारिसकै दिन सरकारले दुई अध्यादेश जारी गरेको थियो । औषधि (तेस्रो संशोधन) अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी भएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २५ गते अध्यादेश जारी गरेकी हुन् ।

अधिवेशनसँगै यस पटक जेठ ४ गतेदेखि बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल गराउने तयारी छ । मङ्गलबारकै बैठकका सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गर्नेछन् । जेठ ४ र ५ गते छलफल गर्ने तयारी छ । जेठ ७ गते संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको छ । १५ जेठमा बजेट पेश हुने छ ।