संघीय सरकारको बजेट आज सार्वजनिक हुँदै, के छ प्राथमिकतामा ?

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो । आज अपराह्न बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेको छ ।


आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटभन्दा बढेन् छैन । यसअघि सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याएको थियो । उक्त नीति तथा कार्यक्रम गत शनिबार पारित भएको थियो । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ । सरकारले सार्वजनिक खर्च कटौतीलाई प्राथमिकता दिने भएको छ । आकर्षक नारासहित बजेट लोकप्रिय बनाउने प्रयास गरिएको छ ।