संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित, नयाँ नक्सा अनुमोदन

काठमाडौं । भारतीय कब्जामा रहेका लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटेर बनाइएको नेपालको नयाँ राजनीतिक नक्सा प्रतिनिधिसभाबाट सर्वसम्मतले अनुमोदन भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको ऐतिहासिक बैठकले संविधान संशोधन विधेयकलाई सर्वसम्मत पारित गरेको हो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक अब पास भएको छ ।

शनिबारको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो । उपस्थित सबैले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका कारण सर्वसम्मत भएको हो । संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

संसदमा २ सय ७५ जना सांसद रहेका छन् । यो संशोधन विधेयकको विपक्षमा रहेकी सांसद सरिता गिरी आफुले बोल्न नपाएपछि शुरुमै निस्किएकी थिइन् । सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो । ७ गते उक्त नक्सा सार्वजनिक भएको थियो ।

नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न जेठ ९ मा संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको हो । अब यो प्रस्ताव राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पास गरेपछि राष्ट्रपतिसमक्ष पुगेर यसले औपचारिकता पाउनेछ ।