काठमाडौं । प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो बैठक आज बस्ने भएको छ । बुधबार अपराह्न चार बजेका लागि बैठक बोलाइएको हो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाइने भएको छ । सभामुख अग्नि सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने समेत कार्यसूची रहेको छ । एक दर्जन बढी अध्यादेश स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने पनि आजको बैठकको सम्भावित कार्यसूची छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश बैठकमा पेश गर्ने कार्यक्रम छ ।
नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश स्वीकृतिका लागि पनि प्रस्ताव पेश हुने भएको छ ।
सपथ सम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी पहिलो संशोधन अध्यादेश, तेजाब तथा घातक रासायनिक पदार्थ नियमन अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।