संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिए । उनले सरकारले ल्याएको अध्यादेश संसदबाट फास्ट ट्रयाकमा पारित गर्दै छिटो कार्यान्वयनमा लैजाने निर्णयसमेत भएको बताए ।

अध्यादेश कार्यान्वयनका लागि आवश्यक नियमावली बनाउने निर्णय भएको जानकारी दिए । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, ‘‘हिउँदे अधिवेशन माघ १८ गते सुरु हुँदैछ । यो हिउँदे अधिवेशनबाट हामीले राष्ट्रपतिबाट जारी भएका अध्यादेशहरुलाई फास्ट ट्रयाकबाट संसदबाट पास गर्ने काम हुन्छ । ती अध्यादेशहरु कार्यान्वयनका लागि नियमावलीहरु तदारुकताका साथ बनाउने निर्णय गरेका छौं । अध्यादेश कार्यान्वयनमा जान्छ ।’’

यसैगरी, सरकारले सहिद दिवस भव्य रुपमा मनाउने भएको छ । उनले सहिद सप्ताहको बुधबार अन्तिम दिन भएकाले सरकारको तर्फबाट शहीदगेटमा सहिदप्रति श्रद्धाञ्जली अर्पण हुने र माल्यार्पण गरिने बताए । उहाँले सहिद दिवसको स्मरणमा काठमाडौंमा कार्यक्रमको आयोजना गरिने पनि जानकारी दिए ।


उनले भने, ‘‘भोलि सहिद सप्ताहको अन्तिम दिन हो । त्यस कारण भोलि सरकारको तर्फबाट सहिद दिवस मनाउने काम हुन्छ । भोलि प्रधानमन्त्रीसहित हामी सबैजना सहिदगेट जान्छौं । त्यहाँ सहिदहरुप्रति श्रद्धाञ्जली र माल्यार्पण हुन्छ । त्यसपछि हामी लैनचौर गएर श्रद्धाञ्जली अर्पण गर्छौं । त्यसपछि जहाँ ठाउँ खालि हुन्छ त्यहाँ हाम्रो कार्यक्रम हुन्छ ।’’